नियम ५१
बिलम्व शुल्क (डेमरेज) मिनाहा दिने सम्बन्धी कार्यविधि
(१) नियम ५० बमोजिम लागेको बिलम्व शुल्क (डेमरेज) कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएको कारणले मिनाहा पाउनु पर्ने भनी मालवस्तु धनीले स्पष्ट कारण खोली आफूसँग भएका आधार
प्रमाणसमेत संलग्न गरी भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँचबुझ गरी आंशिक वा पूर्णरूपमा मिनाहा दिनु पर्ने देखिएमा मिनाहा दिनु पर्ने स्पष्ट कारण खोली लिखित निर्णय गरी उपनियम (३) र (६) का अधीनमा रही मिनाहा दिन सक्नेछ ।
(३) यस नियमबमोजिम बिलम्व शुल्क (डेमरेज) मिनाहा दिंदा देहायको अधिकारीले देहायबमोजिमको रकमसम्म मिनाहा गर्न सक्नेछः–
(क) राजपत्र अनङ्कित कर्मचारी कार्यालय प्रमुख हुने भन्सार कार्यालयको प्रमुखले पच्चीस हजार रूपैयाँसम्म,
(ख) राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुख हुने भन्सार कार्यालयको प्रमुखले एक लाख रूपैयाँसम्म,
(ग) राजपत्राङ्कित प्रथम वा द्वितीय श्रेणीको कार्यालय प्रमुख हुने भन्सार कार्यालयको प्रमुखले तीन लाख रूपैयाँसम्म ।
(४) उपनियम (३) बमोजिम भन्सार कार्यालयको प्रमुखले आफैले मिनाहा दिनसक्ने हदभन्दा बढी रकम मिनाहा दिनु पर्ने अवस्था देखिएमा भन्सार कार्यालयको प्रमुखले मिनाहा दिने सम्बन्धमा आफ्नो स्पष्ट राय उल्लेख गरी उपनियम (१) बमोजिमको निवेदनसमेतका कागजात संलग्न गरी महानिर्देशकसमक्ष पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम आफू समक्ष प्राप्त हुन आएका कागजात उपर जाँचबुझ गर्दा मिनाहा दिनु पर्ने देखिएमा महानिर्देशकले सम्बन्धित कार्यालय प्रमुखलाई त्यस्तो रकम पूर्ण वा आंशिक रूपमा मिनाहा दिन स्वीकृति दिन सक्नेछ ।
(६) उपनियम (४) बमोजिम महानिर्देशकको स्वीकृति प्राप्त भएपछि सम्बन्धित कार्यालय प्रमुखले स्वीकृति प्राप्त भएबमोजिमको रकम मिनाहा दिन सक्नेछ ।